भलिबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए

काठमाडौं, १८ मंसिर । राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् ।
नेपाल भलिबल संघले शनिबार बन्द प्रशिक्षणमा रहेका २० मध्ये पाँच खेलाडी बाहिरिएको जानकारी दिएको हो ।
संघले पहिलो चरणमा १५ सदस्यीय टोली छनोट गरेको छ । रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् ।
साविक विजेता नेपाली महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।
प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ ।
यसै प्रतियोगिताका लागि पुरुष टोलीले प्रशिक्षण गरिरहेको छ । पुरुष टोलीको घोषण आइतबार हुने संघले जनाएको छ ।
बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ,शान्ति थारु, उषा भण्डारी,निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषाकुमारी चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सरस्वती जैशी