सीता रानामगरले हङकङमा हुने खेल खेल्ने

काठमाडौं, १८ मंसिर । नेपाली क्रिकेटर सीता रानामगरले हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छन् ।
नेपाली राष्ट्रिय टोलीकी उप–कप्तान रानामगरले ढिलै भए पनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको बताइन् । शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सन्दीप लामिछाने लगायतका पुरुष क्रिकेटरले फ्रन्चाइज लिग खेल्दा हामीले पनि अवसर पाए हुन्थ्यो भन्ने लाग्यो । अहिले अवसर पाएँ, खुसी छु ।’
हालै मात्र टी–२० महिला विश्वकपको एसिया छनोट खेलेर आएकी उनले केही दिनको आराम पछि तयारीमा जुट्ने बताइन् । २००७ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सीताले भनिन्, ‘आफ्नो उच्च प्रदर्शन गर्न प्रयास गर्नेछु ।’
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले हङकङमा खेल्न छनोट भएकोमा सीतालाई बधाई दिँदै नेपालीहरुको मिहेनतले गर्दा यो सम्भव भएको बताए ।
राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले नेपाली महपला क्रिकेटमा यो ऐतिहासिक दिन भएको बताए । ‘यसले अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्छ । नेपाली क्रिकेटमा लागेर पनि केही गर्न सकिन्छ भन्ने उर्जा मिल्नेछ,’ उनले भने ।