बागमतीलाई हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं, १७ मंसिर । वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ ।
सुदूरपश्चिमले शुक्रबार समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
९६ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि अविजित रहेका नरेन भट्टले ३७ तथा राहुल भण्डारीले ३१ रनको योगदान दिए ।
बागमतीका लागि कप्तान प्रतिश जिसी र गौतम केसीले १–१ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।
बागमतीका लागि विवेक मगरले अविजित ३२ तथा क्रिस कार्कीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामीले ५ तथा शेर मल्लले ४ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
जितसँगै सुदूरपश्चिम ६ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहँदा बागमतीले समान खेलबाट ४ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
सुदूरपश्चिमले उपाधिका लागि मंसिर १९ मा लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।