भारतमा पनि ओमिक्रोनका दुई संक्रमित भेटिए

एजेन्सी, १६ मंसिर । भारतमा पहिलो पटक कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई केस फेला परेका छन् । भारत सरकारका अनुसार दुवै केस कर्नाटकका हुन् ।
यी दुई संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण भइरहेको छ । सरकारले ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको तर सचेतना अत्यन्त जरुरी रहेको बताएको छ ।
बिहीबार, स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भारतमा ओमिक्रोनका दुई संक्रमित भेटिएको पुष्टि गरे ।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा लभ अग्रवालले हिजो राति कर्नाटकमा ओमिक्रोन भेरियन्टका दुई जनामा भेटिएको बताए । उनले ६६ वर्षीय पुरुष र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको बताए ।
उनले संक्रमितको सम्पर्कमा कति जना आएका छन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताए ।