एजेन्सी, १६ मंसिर । नयाँ भेरियन्ट ओमिक्रोन पहिचान गरेको दक्षिण अफ्रिकामा कोभिड–१९ का संक्रमित ह्वात्तै बढेका छन् ।

पछिल्लो २ हप्तामा संक्रमण दर तीव्र रुपमा बढिरहेको राष्ट्रिय सरुवा रोग केन्द्र (एनआईसीडी)की डा. मिसेल ग्रुमले बताइन् ।

बुधबार दक्षिण अफ्रिकामा कोभिड–१९ का ८ हजार ५६१ नयाँ संक्रमित थपिएका छन् । जबकि एक दिन उक्त संख्या आधाले कम थियो । उक्त मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ ।

नयाँ भेरियन्टकै कारण संक्रमण दर तीब्र बढेको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । ‘बढ्ने दर चिन्ताजनक छ’, ग्रुमले भनिन् । पछिल्लो संक्रमण युवायुवतीमा बढी देखिएको भएपनि बढी उमेरका मानिसमा पनि संक्रमण हुन थालेको उनको भनाइ छ ।

एनआईसीडीका अनुसार गत महिना भएका जिन सिक्वेन्सिङमध्ये ७४ प्रतिशतमा नयाँ ओमिक्रोन भेरियन्ट भेटिएको थियो । पछिल्लो प्रमाणअनुसार ओमिक्रोनले कुनै–कुनै रोगप्रतिरोधी क्षमता छल्न सक्ने भए पनि विद्यमान खोपले गम्भीर संक्रमण र मृत्युबाट बचाउने केन्द्रको भनाइ छ ।

दक्षिण अफ्रिकाको गाउटेङमा नोभेम्बर ८ गते लिइएको एक नमुना परीक्षणपछि पत्ता लागेको ओमिक्रोन हालसम्म २ दर्जन मुलुकमा फैलिइसकेको छ ।

–द गार्जियन