एजेन्सी, १६ मंसिर । जनतालाई विदेशको यात्रा नगर्न भनेर आफैं स–परिवार विदेश घुम्न गएपछि इजरायली प्रधानमन्त्रीको आलोचना भएको छ ।

पत्नी र ४ जना छोराछोरीसहित प्रधानमन्त्री नफताली बेनेट विदा मनाउन भन्दै विदेश घुम्न गएपछि उनको आलोचना भएको हो ।

केही दिनअघि कोभिडको नयाँ भेरियन्टका संक्रमित फेला परेपछि बेनेट नेतृत्वको सरकारले सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको थियो भने नागरिकलाई सकेसम्म विदेश नजान आग्रह गरेको थियो ।

तर आफैंले घोषणा गरेका प्रतिबन्धात्मक नियम पालना नगरेको भन्दै बेनेटको आलोचना भएको टीआरटी वर्ल्डले जनाएको छ । विपक्षी राजनीतिज्ञदेखि सर्वसाधारणले उनको आलोचना गरेका छन् ।

‘यो उनको व्यवहारको प्रमाण हो’, विपक्षी दलका सांसद इजरेल कार्ट्जले आर्टी रेडियोसँग कुरा गर्दै भने, ‘यो जनताप्रति उनको जिम्मेवारीको प्रमाण हो, व्यक्तिगत उदाहरण बन्न नसकेको प्रमाण हो । उनले आफू जे मन लाग्यो त्यही गर्न सक्छु भन्ने ठान्छन् ।’

त्यस्तै, सर्वसाधारण इजरायलीले सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै बेनेटको नेतृत्वमाथि प्रश्न उठाएका छन् ।