एजेन्सी, १६ मंसिर । फ्रेन्च लिग वान अन्तर्गत बुधबारको खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र निस बराबरीमा रोकिएका छन् ।

पार्क डेस प्रिन्सेसमा पिएसजी र निसले गोलरिहत बराबरी खेलेका हुन् । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

खेलको १७औं मिनेटमा कास्पर डोलबर्गको हेडरलाई गोलरक्षक जियानलुइजी डोनारुम्माले मुस्किलले बचाउ गर्दै पिएसजीको संकट टारे ।

६४औं मिनेटमा लियोनेल मेस्सीको पासमा केलियन एमबाप्पेले सुवर्ण अवसर पाएपनि गोल गर्न नसक्दा पिएसजी अग्रता लिनबाट चुक्यो ।

७६औं मिनेटमा एन्जल डी मारियाले मौका खेर फाले । यो नतिजापछि शीर्ष स्थानमा कायम रहेको पिएसजीले १६ खेलमा ४१ अंक जोड्दा निस २७ अंकका साथ चौथो स्थानमा छ ।