जनकपुरधाम, १५ मंसिर । प्रदेश २ मा एचआईभी एड्स रोग लागेका ३०१ जना व्यक्ति संक्रमित सम्पर्कविहीन रहेका छन् ।

३४औं विश्व एड्स दिवसको अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा बुधवार धनुषाको सपहीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

प्रदेशभरमा हाल ४ हजार ३८० संक्रमित रहेकाहरुमध्ये ३०१ ज्ना सम्पर्कविहिन रहेकोले उनीहरु उपचार सेवाबाट वञ्चित रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए ।

कार्यक्रममा सेभ द चिल्डे«नका सिनियर प्रोग्राम कोर्डिनेटर चन्द्रनारायण साहले पछिल्लो असार मसान्तसम्मको तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमित मध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको र १ हजार ३८२ जना उपचारबाट वञ्चित अर्थात मिसिङ्ग लिस्टमा रहेको बताए ।

उनले उपचारबाट वञ्चित रहेका १ हजार ३८२ जना मध्ये ६७२ जना अन्य प्रदेश बसोबास गरि त्यहिं औषधि सेवन गरिरहेको र ३९७ जनाको मृत्यु भइसकेको जानकारी दिए । उनले सम्पर्कविहिन रहेकाहरुमध्ये २३ जना पूर्ण मिसिङ्ग र २७८ जना उपचारका लागि नाम दर्ता गराएपनि सम्पर्कमा नआएको बताए । कुल संक्रमित मध्ये १७५ जना बालबालिकाहरु छन् ।

साहले पछिल्लो समयता चेकजाँचको दायरा बढदै गएपछि संक्रमितहरुको संख्या पनि तिव्र रुपमा बढदै गएको बताए । उनले गत तीन वर्षको तथ्यांकलाई हेर्दा दोब्बरभन्दा बढी संक्रमितको संख्यामा वृद्धि भएकोसमेत बताए ।

तथ्यांकलाई आधार मान्दा आर्थिक वर्ष २०७५/०७६ मा कुल ५ हजार ६९० चेकजाँचमा २२६ पोजेटिभ केश भेटिएका थिए भने आ.ब. ०७६/७७ मा १४ हजार ६०२ चेकजाँचमा ४ सय र आ.ब. ०७७/७८ मा सो संख्या बढदै २५ हजार ९७८ चेकजाँचमा ४७५ जना संक्रमित फेला परेको थियो ।

नेपाल सरकारले सन् २०१८ सम्ममा ४ हजार ५६ संक्रमित फेला पार्ने लक्ष्य लिएकोमा २०२१ सम्ममा सो संख्या ह्वातै ११८ प्रतिशतले वृद्धि भएको छ । यो सरकारका लागि चुनौतीपुर्ण अवस्था रहेको छ ।