काठमाडौं, १५ मंसिर । वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । उसले बुधबारको खेलमा प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

९१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि अविजित रहेका वसन्त कार्कीले ३७ तथा अर्जुन साउदले ३२ रनको योगदान दिए । दिपक टमाटाले १० रन जोडे ।

सुरुवात खराब भए पनि पाँचौं विकेटका लागि वसन्त र अर्जुनले अविजित ७१ रनको उत्कृष्ट साझेदारी गरेपछि सुदूरपश्चिमले सहज जित हात पारेको हो । प्रदेश १ का लागि अभिनय राजवंशीले २, सारवान किस्कु र अंकित सुवेदीले १–१ विकेट हात पारे ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले २४ ओभरमा सबै विकेट गुमाउँदै ९० रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान अंकित सुवेदीले अर्धशतकीय पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ६१ रन जोडेका अंकितले ७१ बलमा ९ चौका प्रहार गरे ।

सुदूरश्चिमका लागि शेर मल्लले ४, नरेन्द्र साउदले ३ तथा कैलाश ऐरले २ विकेट हात पर्दा १ विकेट रन आटका रूपमा प्राप्त भयो । यो नतिजासँगै ५ खेल खेलेका दुवै टोलीले समान ६ अंक जोडे पनि नेटरनरेटको आधारमा सुदुरपश्चिम दोस्रो स्थानमा उक्लिँदा प्रदेश १ तेस्रोमा झरेको छ ।