रेल्वे चाँडै सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई लोसपाले बुझायो ज्ञापन पत्र

जनकपुरधाम, १४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाम–जयनगर रेल्वे चाँडै सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै लोसपाका नेताहरुले जनकपुरधाम–जयनगर रेल्वे चाँडै सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।
जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारतलगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकका लागि महत्वपूर्ण अवलोकन गन्तव्य रहे पनि रेल्वे सञ्चालन नहुँदा सबै क्षेत्र ओझेलमा परेको लोसपाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको सञ्चालन षड्यन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भइरहेको छ ।’
जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको र इन्जन, बोगी, ट्रयाकलगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको लोसपाका नेता उमेश मण्डलले बताए ।
नेता मण्डलले रेल्वे सञ्चालन भएपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोड्ने साधनको रुपमा उपयोग हुने, नेपाल–भारतका जोडिएका दुवैतिरका क्षेत्र विकसित हुने, धार्मिक र पर्यटनमा जबर्जस्त अभिवृद्धि हुने बताए ।
सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेसमेत उनीहरुले ज्ञापन पत्रमार्फत चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले आफूहरुले पनि रेल्वे चाँडै सञ्चालन होस् भन्ने चाहिरहेको अवस्थामा संघ सरकारको प्रदेश २ प्रतिको दृष्टिकोण नै नकारात्मक रहेकोले यसमा ढिलाई भईरहेको बताए ।
ज्ञापन पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिए ।
लोसपाका नेताहरु सतिशलाल दास, पूनम झा मैथिली, विभा ठाकुर, विन्दु ठाकुर, संजय सिंह, धिरेन्द्र सिंह, उमेश मण्डल, संजय चौधरीलगायतकाहरु ज्ञापन पत्र बुझाउन पुगेका थिए ।