काठमाडौं, १३ मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

स्वास्थ्य सेवा विभागले सीमा नाकामा राखिएका हेल्थ डेक्सहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सीमा नाकामा रहेका हेल्थ डेक्सलाई कोरोनाको एन्टिजिन परीक्षण गर्दा पोजिटिभ आएका केसहरूलाई थप अध्ययनका लागि प्रयोगशालामा पठाउन परिपत्र गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

ती पोजिटिभ नमुनाहरू संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी जिन सिक्वेन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन सबै हेल्थ डेक्सहरूलाई पत्राचार गरिएको हो । विभागका महानिर्देशक डा. सिंहले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सन्दर्भमा सीमा नाकामा थप सजगता अपनाउन थालिएको बताए ।

प्रदेशको स्वास्थ्य आपतकालीन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई भने संकलन गरिएको नमुना जनस्वास्थ्य प्रयोगशालासम्म पु¥याउने कार्यमा समन्वय तथा सहजीकरण गर्नसमेत अनुरोध गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई भने नाकाहरूबाट संकलन गरिएका नमुनाहरूको जिन सिक्केन्स परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको महानिर्देशक डा. सिंहले बताए ।

हालै दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वभर सतर्कता अपनाउन थालिएको छ । नेपालले पनि सीमा नाकामा कडाइ गर्ने, अन्तर्राष्ट्रिय हवाईमार्गमार्फत आएकामाथि निगरानी राख्ने तथा अनिवार्य क्वारेन्टिन बस्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म नयाँ भेरियन्टका संक्रमित नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ । तर, सावधानी भने अपनाउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।