चीनले पूर्वी लद्दाखमा आफ्नो सैन्य उपस्थिति बढाएपछि भारत चिन्तित

एजेन्सी, १३ मंसिर । चीनले वास्तविक नियन्त्रण रेखा नजिकै पूर्वी लद्दाखमा आफ्नो सैन्य उपस्थिति र पूर्वाधार बढाएपछि भारत चिन्तित बनेको छ ।
बीबीसी हिन्दीका अनुसार दुबै मुलुकबीच हालै भएको वार्ताका क्रममा भारतले चिनियाँ सेनासँग पूर्वी लद्दाखमा भइरहेका गतिविधिबारे कुराकानी गरेको थियो ।
वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै चीनले सडकसहित सैन्य अखडा निर्माण गरेको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।यसबाहेक चीनले आफ्नो क्षेप्यास्त्र बलसहित ठूला हतियार तैनाथ गरेको र यही कारण भारत चिन्तित बनेको समाचारमा उल्लेख छ ।
स्रोतका अनुसार चीनले सडक मार्ग फराकिलो पारिरहेको र नयाँ धावन मार्ग बनाएकाले नयाँ सैन्य संरचना विशेष महत्वपूर्ण रहेको छ ।नयाँ धानवमार्ग काशगर, गार गुंसार होतनबाट अलग राखिएको छ । फराकिलो सडकमार्ग बनेसँगै एलएसीमा चिनियाँ सेनाको पहुँच थप सुदृढ हुने स्रोतको भनाइ छ । त्यस्तै, चीनले आफ्नो वायु तथा थल सेनाका लागि समेत यस्तै खाले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेको छ ।
दुर्गम क्षेत्रमा सैन्य संरचना निर्माण गर्दा अमेरिकी र अन्य सेटलाइटबाट चिनियाँ सेनालाई सुरक्षित राख्न सकिने भएकाले उक्त क्षेत्रमा नयाँ सैन्य संरचना निर्माणमा चीन लागेको हो । तिब्बत र उक्त क्षेत्रसँग परिचित मानिसलाई सेनामा भर्ती गर्ने प्रयास भइरहेको र नयाँ फौजलाई हान सुरक्षा बलसँगै तैनाथ गरिने समाचारमा उल्लेख छ । चीनले दुर्गम क्षेत्र भएका कारण मुख्य भूमिका मानिसलाई त्यहाँ टिक्न निकै गाह्रो हुने भएकाले स्थानीय मानिसलाई नै तैनाथ गर्न चाहेको बताइएको छ ।
विगतका हिउँदको तुलनामा लद्दाखमा यस पटक आवास र सडक सञ्जाल निकै सुधारिएको र उक्त क्षेत्रको जलवायुसँग समेत चीन थप अभ्यस्त बन्दै गएको छ । यसबाहेक, चिनियाँ जनमुक्ति सेनाले स्वायत्त तिब्बत क्षेत्रमा रकेट र क्षेप्यास्त्र बल तैनाथ गरिसकेको छ । साथै, चीनले उक्त क्षेत्रमा निगरानी गर्न भन्दै ठूलो संख्यामा ड्रोन परिचालन गरेको छ ।
बीबीसी हिन्दी