हेटौंडा, १३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलसहित ३ जना नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सूचीलाई चुनौती दिंदै उम्मेदवारी दर्ता गराएका छन् ।

रावलसहित घनश्याम भुसाल र भीम आचार्यले चितवनमा जारी पार्टीको १० औं महाधिवेनशनको बन्दसत्रबाट ओलीले सार्वजनिक गरेको १९ पदाधिकारीको सूचीलाई चुनौती दिएका हुन् ।

ओलीले मध्यरातमा सार्वजनिक गरेको पधाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको सूचीमा रावलसहित घनश्याम भुसाल र भीम आचार्यको पनि देखिएन । ओलीको सो सूची देखेपछि भुसाल थप असन्तुष्ट बने ।

उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, भुसाललाई ओलीले सो पद दिएनन् । अन्ततः उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई साथ नदिएका आचार्यको नाम पनि ओलीले घोषणा गरेको १९ पदाधिकारीमा देखिएन । आचार्यले पनि ओलीको सूचीलाई चुनौती दिँदै सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

भीम रावलले भने यसअघि नै आफू अध्यक्ष पदमा उठ्ने भनेर घोषणा गरिसकेका थिए । उनी अन्तिमपटकसम्म पनि आफ्नो अडानमा कायमै रहे । अन्ततः रावलले उम्मेदवारी दर्ता गराएका छन् ।