आन्दोलनरत वडाध्यक्षहरूले मेयरको कार्यकक्षमा लगाएको ताला उनीहरू काठमाडौं गएको मौकाछोपी फुटाइयो

जनकपुरधाम, १२ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा केही वडाध्यक्षहरुले लगाएको ताला उनीहरू काठमाडौं गएको मौकाछोपी मेयर साहले फुटाउन लगाएका छन् ।
नगरभित्र सरसफाइ व्यवस्थापनको माग गर्दै आन्दोलनमा रहेका वडा सदस्य तथा वडाध्यक्षहरूलाई सरसफाइ कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट बनेका उनीहरूले मेयर साहको कार्यकक्षमा गत सोमबार तालाबन्दी गरेका थिए ।
सरसफाइ कर्मचारी तथा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडासदस्य पंकज मण्डलसँग भएको विवादका कारण सोही वडाका वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर–७ का वडाध्यक्ष जानकी राम साह र वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साहले मेयर साहको कार्यकक्षमा ताला लगाएका थिए ।
सोही दिनदेखि लागेको ताला वडाध्यक्षहरु मेयरविरुद्ध माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्न काठमाडौंको गएको मौकाछोपी वडा नम्बर ५, ११, १४, १६, १७, १८ र २४ का वडाध्यक्षहरुलाई लगाएर मेयर साहले ताला फोड्न लगाएका छन् ।
आफ्नो कार्यकक्षमा ताला लागेको ६ दिनको अवधिमा मेयर साह एक पटक पनि कार्यालय गएनन् । उल्टै आफ्ना ढाल बनाएका केही कर्मचारीलाई उक्साएर उनीहरू विरूद्ध उपमहानगरको कामकाज ठप्प गराएर आन्दोलन गर्न लगाए ।
आन्दोलनरत वडाध्यक्षहरू मेयर साहको राजीनामा माग्दै आन्दोलनलाई थप सशक्त बनाउन काठमाडौं गएका बेला आइतवार आफू मातहत रहेका जसपा, पुर्व राजपा र काँग्रेसका वडाध्यक्षहरूलाई लगाएर ताला फुटाएका छन ।
मेयर साहको कार्यकक्षको ताला फुटेलगत्तै सुनुयोजित रूपमा वडाध्यक्षहरू विरूद्ध आन्दोलनमा रहेका कर्मचारी आन्दोलन छाडेर काममा फर्केका छन । ताला तोडेपछि मेयर साहले रामजानकी विवाहपञ्चमीलाई मध्यनजर गरी कर्मचारीहरुलाई काममा फर्किन निर्देशन दिएपछि औपचारिक रूपमा सोमबारदेखि उनीहरुले कामलाई निरन्तरता दिने जनाएका छन् ।
कर्मचारी एसोसिएशनका अध्यक्ष शरद लाभले आफूहरुको आन्दोलन जारी नै रहेको बताउँदै रामजानकी विवाहमहोत्सवमा देशविदेशबाट पाहुनाहरु आउने भएकाले त्यसलाई मध्यनजर गर्दै काममा फर्केको बताए ।
उता मेयर साहको राजीनामा माग्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत वडाध्यक्षहरूले आइतबार घण्टौसम्म विरोध प्रदर्शन गरेका छन ।
आन्दोलनरत वडाध्यक्षहरूले आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपमहानगरपालिकाको दुरावास्थाबारे जानकारी गराउँदै हरहिसाब पारदर्शी गर्नुपर्ने र फोहोर व्यवस्थापन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले फोहोर व्यवस्थापनको कुनै निष्कर्ष नै ननिकालेर आफूहरु काठमाडौंमा रहेको बेला मेयर साहले ताला फुटाएर ठुलो गल्ती गरेको बताए । मेयर साहले लोकतान्त्रिक पद्धतिको मानमर्दन गरेको उनको आरोप छ ।