जनकपुरधाम, १२ मंसिर । आफ्नै भाइलाई जबर्जस्ती पार्टीको क्षेत्रिय सभापति बनाएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु उपसभापति विमलेन्द्र निधिसँग असन्तुष्ट बनेका छन् ।

नेपाली काँग्रेसको जारी १४औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्नो भाइ धिरेन्द्र निधिलाई क्षेत्रिय सभापति बनाउँदा पार्टीभित्रकै अन्य कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।

क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले गरेको आरोप लगाए । उनले उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको बताए । निधिले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिच्दै आफ्नो भाइलाई क्षेत्रिय सभापति बनाएको बताए ।

उनले भने,‘उपसभापति निधि स्वयं महाधिवेशन प्रतिनिधि र आफ्नो पत्नीलाई समेत महाधिवेशन प्रतिनिधि घोषणा गर्दै आफ्नो भाइलाई स्वेच्छाचारी ढंगले क्षेत्रिय सभापति बनाए । यो लोकतन्त्रको सरासर हत्या हो ।’

क्षेत्रिय प्रतिनिधिका उम्मेदवार शम्भुनाथ झाले पार्टीभित्र राम्रो सम्भावना भएकाहरूलाई घाँटी रेटेर तलै सिध्याउनु काँग्रेसी राजनीतिको संस्कार बनिसकेको आरोप लगाएका छन् ।