सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले हरायो

काठमाडौं, १२ मंसिर । वाइवाइ पुरुष यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ ।
६७ रनको झिनो लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा बिना कुनै विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा अविजित रहेका कप्तान खडक बोहराले ४१ र नरेश भट्टले १२ रनको योगदान दिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो ।
उसका लागि प्रकाश जोशीले सर्वाधिक १५, रमेश बुढाले १२ र रूपक दाहालले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्न आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान ३ विकेट तथा नरेन्द्र साउँदले १ विकेट हात पारे ।