प्रदेश २ द्वारा बागमती प्रदेशमाथि ६ विकेटको सहज जित

काठमाडौं, १२ मंसिर । वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा प्रदेश २ ले बागमती प्रदेशमाथि ६ विकेटको सहज जित हात पारेको छ ।
२५४ रनको विजयी लक्ष्य प्रदेश २ ले ४१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश २ का लागि सन्तोष कार्कीले शतकीय तथा कप्तान विवेक यादवले अर्धशतकीय पारी खेले ।
११५ बलको सामना गरेका सन्तोषले १४ चौका र ३ छक्काको मद्दतमा १११ रन बनाए । ८६ रनमा अविजित रहेका विवेकले ७३ बलको समाना गर्दै ६ चौका र ७ छक्का प्रहार गरे ।
रोहन विकले २६ रनको योगदान दिँदा सनी साह ९ रनमा अविजित रहे । तेस्रो विकेटका लागि सन्तोष र विवेकले १४४ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि प्रदेश २ ले सहज जित हात पारेको हो ।
बागमतीका तिलक भण्डारीले २, प्रशान्त महत र कप्तान प्रतिश जिसीले १–१ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २५३ रन बनाएको थियो । बागमतीका लागि स्वप्निल अधिकारी र विपिन शाहीले अर्धशतकिय पारी खेले ।
८३ बलको सामना गरेका स्वप्निलले ६ चौका र ५ छक्काको मद्दतमा ८५ रन बनाए । ५९ रन जोडेका विपिनले ७८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । प्रतिक श्रेष्ठले १५ रन बनाउँदा सक्रियराज कार्की ८ रनका अविजित रहे ।
प्रदेश २ का पुराज ढुङ्गेलले ३, प्रदिप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले १–१ विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो । जितसँगै प्रदेश २ ले फाइनल सम्भावना बलियो बनाउँदा बागमतीको भने कमजोर बनेको छ ।