फिफा विश्वकप: युरो विजेता इटाली र पोर्चुगल एउटै समूहमा

एजेन्सी, ११ मंसिर । सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ ।
युइएफएले गरेको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एउटै समूहमा परेका छन् ।
प्लेअफको समूह ‘सी’ मा यी दुई टोलीसहित नर्थ म्यासेडोनिया र टर्की छन् । यस्तोमा इटाली वा पोर्चुगलमध्ये एकले मात्र विश्वकपमा स्थान बनाउन सक्छन् ।
खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् र फाइनल जित्ने टोली विश्वकपका लागि छनोट हुनेछ ।
इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।
प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहँदा समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ ।