काँग्रेस महाधिवेशन: धनुषाको ८ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ७ मा नेतृत्व चयन, एउटामा आज निर्वाचन हुँदै

जनकपुरधाम, ११ मंसिर । नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत धनुषाको ८ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ७ निर्वाचन क्षेत्रमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट ६ वटा क्षेत्रमा सर्वसम्मत र एउटामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशसभा निर्वाचन क्षेत्रमा भने शनिबार निर्वाचन भइरहेको नेपाली काँग्रेस धनुषाका उपसभापति सन्तोष यादवले जानकारी दिए ।
क्षेत्र नम्बर १ को (क) मा जगतसुन्दर साह र १ को (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । जसमध्ये साह सर्वसम्मत र लामा मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन् । १ को (ख) मा निर्र्वचित भएका संस्थापन पक्षका लामाले २५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनइतर पक्षका मदन यादवले ७१ मत मात्र प्राप्त गर्न सके ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ (क) मा सहमतिबाटै सुमेद साह सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, २ को (ख) मा भने आज निर्वाचन भईरहेको उपसभापति यादवले बताए ।
केन्द्रीय उपसभापति विमलेन्द्र निधिको निर्वाचन क्षेत्र समेत रहेको ३ को (क) र (ख) दुबैमा सहमतिबाटै नेतृत्व चयन भएको छ । क्षेत्र नम्बर ३ (क) मा रामचन्द्र पजियार र (ख) मा छेदी राय सभापतिमा चयन गरिएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ४ को दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा समेत सहमतिबाटै नेतृत्व चयन गरिएको छ । जसअनुसार ४ (क) मा योगनारायण यादव र (ख) मा बासुदेव पौडेललाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ ।
यसअघि सम्पन्न पालिका अधिवेशनअन्तर्गत धनुषाको १८ मध्ये ९ स्थानीय तहमा सर्वसम्मत र ९ मा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का ५ पालिकामध्ये धनुषाधाम नगरपालिकामा चन्द्रद्रीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामशुभ यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन् ।
क्षेत्र नम्बर २ का ५ पालिकामध्ये औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मत नेतृत्व पाएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले निर्वाचनमार्फत नेतृत्व पाएका छन् ।
त्यस्तै, क्षेत्र ३ मा जनकपुरधाम उपमहानगरपालिकासहित ४ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संसदीय दलका नेता रामसरोज यादवले जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मत नेतृत्व पाएका छन् ।
क्षेत्र नम्बर ४ का ४ पालिकामध्ये २ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने एउटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादवले सर्वसम्मत नेतृत्व पाएका छ भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर गाउँपालिकामा राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व पाएका छन् ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।