महोत्तरी, ११ मंसिर । नेपाली काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनका लागि आज निर्वाचन हुन लागेको छ । सर्वसम्मत नेतृत्व चयन गर्न नसक्दा क्षेत्र नम्बर १ र ३ मा निर्वाचन हुन लागेको हो ।

आकांक्षी उम्मेदवारहरूबीच विवाद उत्पन्न भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा सर्वसम्मति नेतृत्व चयन गरिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली काँग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम रहेको छ । मनरासिस्वा नगरपालिका–८ मा पनि आजै मतदान भईरहेको छ ।

वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा निर्वाचन हुने नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवले बताए ।

लामो विवादका कारण बलवा नगरपालिकामा समेत अधिवेशन हुन सकेको छैन । बलवा नगरपालिकाको विवादलाई आजै समाधान गरी निष्कर्षमा पु¥याइने नेपाली काँग्रेसको तयारी छ ।