प्रदेश १ ले प्रदेश २ माथि ७ विकेटको सहज जित निकाल्यो

काठमाडौं, १० मंसिर । वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा प्रदेश १ ले प्रदेश २ माथि ७ विकेटको सहज जित हात पारेको छ ।
२१२ रनको विजयी लक्ष्य प्रदेश १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश १ लाई लगातार तेस्रो जित दिलाउन सोनु अन्सारीले अविजित ११९ रनको शतकिय पारी खेले । १४५ बलको सामना गरेका उनले १४ चौका र ३ छक्का प्रहार गरे ।
दिपेश कँडेलले ३३ रनको योगदान दिँदा विवेक अनन्द मेहता २४ रनमा अविजित रहे । चौथो विकेटका लागि सोनु र विवेकले अविजित ६५ रनको साझेदारी गरेपछि प्रदेश १ ले सहज जित हात पारेको हो ।
प्रदेश २ का विवेक यादव, तृतराज दास र प्रदिप पासवानले १–१ विकेट हात पारे । यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो ।
प्रदेश २ का लागि कप्तान विवेक यादवले सर्वाधिक ७० रनको योगदान दिए । ४६.४ ओभरमा दिपक जोशीले गौरभ कटुवालबाट क्याच गराउनुअघि उनले ७१ बलको सामना गर्दै ४ चौका र ६ छक्का प्रहार गरे ।
नवौं विकेटका लागि विवेक र प्रदिप पासवानले ५७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै प्रदेश २ को पारीलाई उकासेका थिए । रोहन विकले ४७, साम्सद मन्सुरीले १६ रन बनाउँदा प्रदिप पासवान १० रनमा अविजित रहे ।
प्रदेश १ का दिपेश कँडेलले ३, गौरभ कटुवाल र दिपक जोशीले २–२ तथा अभिनय राजवंशी १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै प्रदेश १ ले ३ खेलमा ६ अंक जोड्दा प्रदेश २ ले पहिलो पराजय बेहोरेको छ । प्रदेश १ ले पहिलो खेलमा बागमती प्रदेशलाई २६ तथा दोस्रो खेलमा कर्णाली प्रदेशलाई ७६ रनले हराउँदा प्रदेश २ ले पहिलो खेलमा सदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको थियो ।