वाइफाइ चलाउन भर्याङमा चढेका एक युवकको लडेर मृत्यु

महोत्तरी, १० मंसिर । महोत्तरीमा वाइफाइ चलाउन भर्याङमा चढेका एक युवकको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलवा नगरपालिका वडा नम्बर–१ का १८ वर्षीय सन्दीप महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत महतो भर्याङबाट लडेका थिए ।
विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
घाइते महतोलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा ल्याउँदा यहाँ उनको अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि सिरहाको कर्जनहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो ।
सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।