जनकपुरधाम, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ ।

बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयका विद्यार्थी बोक्ने बस प्रयोग गरिएको हो ।

विद्यार्थी मात्र बोक्ने संकेत बुझाउने पहेलो रंगका जनकपुरधाम–४ स्थित माइलस्टोन इङ्गलिश बोर्डिङ्ग स्कुलको प्रदेश २–०२–००१ ख ००१९ नम्बरको बसमा नेकपा एमालेले १०औं महाधिवेशनको झण्डा फहराएको पाइएको छ ।

स्थानीय ब्रम्हनन्द ठाकुरले यसरी शैक्षिक गतिविधिका लागि राज्यबाट सहुलियतका साथ लिइएको सवारीसाधन पार्टीगत फाइदाका लागि प्रयोग गरिनु आपत्तिजनक रहेको बताए । उनले कुनै पनि पार्टीको कार्यक्रममा स्कुलको बस प्रयोग गर्न नहुने धारणा राखे ।

उनले भने,‘निकै राष्ट्रवादको नारा लगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता स्कुलको बसमा ओसार्नु अशोभनीय छ । कुनै राजनीतिक दलको कार्यक्रममा विद्यालयले पनि आफ्नो सवारीसाधन उपलब्ध गराउनु अपराध नै हो ।’

महाधिवेशनमा सहभागीहरूको संख्या उल्लेखनीय देखाउन पार्टीले गाउँ–गाउँबाट विद्यालयको गाडी प्रयोग गरी कार्यकर्ता ओसारेको बताइएको छ ।

यस सम्बन्धमा निजी विद्यालयहरुको छाता संगठन प्याबसन धनुषाका अध्यक्ष गणेश साहले यो बिषय नितान्त रुपमा विद्यालयसँग सम्बन्धित रहेको बताए । उनले यसबारेमा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

यता, स्थानीय एक अभिभावक सञ्जिव साहले विद्यार्थी बोक्न मात्र प्रयोग गरिने स्कुल बसमा पार्टीका कार्यकर्ता बोकिनु गम्भीर बिषय रहेको बताए । स्कुलको बसहरूको सवालमा निर्देशिकामा स्पष्ट विद्यार्थी र विद्यालयका गतिविधमा मात्र प्रयोग गरिने बताइएकोले जो कसैले गरेको भए पनि त्यो अपराध नै रहेको उनले बताए ।

‘विद्यालय शान्ति क्षेत्र भएकाले यहाँ राजनीतिक पार्टीले हस्तक्षेप गर्न पनि पाइँदैन,‘उनले भने ।’

यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक अजय यादवसँग सम्पर्क गर्दा उनले आफू धेरै व्यस्त रहेको भन्दै कुनै प्रतिक्रिया दिन मानेनन् ।

तस्बिर: बिनय यादव