काठमाडौं, ९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आकस्मिक विद्यालय अनुगमन गरेका छन् ।

बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा उनले आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् ।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए ।

उनले शिक्षक, तथा विद्यार्थीले थप परिश्रम गरि नमुना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे ।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई समेत दिए ।

सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ’ मन्त्री पौडेलले भने ‘शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।’