एजेन्सी, ९ मंसिर । भारतीय जनता पार्टीका सांसद तथा क्रिकेटर गौतम गम्भिरलाई ज्यान मार्ने धम्की पाकिस्तानबाट आएको भारतीय प्रहरीले जनाएको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरी स्रोतलाई उद्धृत गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । ज्यान मार्ने धम्की दिने व्यक्ति शाहिद हमीद भएको जनाइएको छ ।

गम्भिरले आफ्नो ज्यान लिने धम्की सहित दुई इमेल प्राप्त भएको बताएका थिए । आइएसआइएस कश्मीरको नाममा पठाइएको इमेलमा चौबिस घण्टा भित्र गम्भिर र उनको परिवारको ज्यान लिने उल्लेख थियो ।

‘हामी तिमी र तिम्रो परिवारका सदस्यलाई मार्न गइरहेका छौं,’ गम्भिरलाई पठाइएको पहिलो इमेलमा लेखिएको थियो ।

दोस्रो इमेलमा भनिएको थियो, ‘हाम्रो उदेश्य तिम्रो ज्यान लिने थियो तर तिमी बच्यौ । यदि तिमीलाई तिम्रो परिवारका सदस्यको माया लाग्छ भने राजनीति तथा कश्मीर मुद्दाबाट टाढै बस ।’

इमेल मार्फत धम्की आएपछि गम्भिर को घर बाहिर सुरक्षा बढाइएको छ ।

–बिबीसी