पुरुष यु–१९: प्रदेश २ ले सुदूरपश्चिममाथि २ विकेटको जित निकाल्यो

काठमाडौं, ९ मंसिर । बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको जित निकाल्दै विजयी शुरुवात गरेको छ ।
२९१ रनको विजयी लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश २ का लागि आदिल अन्सारीले आक्रमक अविजित ८७ रनको पारी खेले । उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
नवौँ विकेटका लागि आदिल र प्रदीप पासवानले अविजित ७८ रनको साझेदारी गरेपछि प्रदेश २ ले रोमान्चक जित हात पारेको हो । प्रदीप ९ रनमा अविजित रहे । अमित यादवले ४९ र गुल्सन झाले ४६ रनको योगदान दिए । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३–३ विकेट हात पर्दा हेमन्त धामी र लोकेश बमको नाममा १–१ विके रह्यो ।
छैटौँ विकेटका लागि अमित र गुल्सनले ९३ रनको उत्कृष्ट साझेदारी गर्दै प्रदेश २ को पारी उकासेका थिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो सुदूपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै २९० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि अर्जुन साउदले शतकीय पारी खेले । ३६.१ ओभरमा अजय यादवले आदिल अन्सारीबाट क्याच गराउनुअघि उनले ८५ बलमा १४ चौका र ५ छक्काको मद्दतमा ११६ रन बनाए । अर्जुनले लोकेश बमसँग चौथो विकेटका लागि १४२ रनको शतकीय साझेदारी गरेपछि सुदूपश्चिमले बलियो योगफल तयार पारेको थियो ।
७३ बलको सामना गरेका लोकेशले १३ चौका र १ छक्कामो मद्दतमा ८१ रनको योगदान दिए । नरेश भट्टले ३० र वसन्त कार्कीले २७ रन बनाए । प्रदेश २ का प्रदीप पासवानले ३, विवेक यादव र अजय यादवले २–१ तथा आदिल अन्सार र तृतराज दासले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त ।
यो जितसँगै प्रदेश २ ले २ अङ्क जोड्दा सुदूरपश्चिमले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।