प्रदेश २ सरकारद्वारा मधेशी शहिद प्रतिष्ठान गठन

जनकपुरधाम, ९ मंसिर । प्रदेश २ सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरेको छ ।
मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतमा शहिद भएकाहरुको परिवार तथा घाइतेहरूको हकहितका लागि सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुई÷दुईजना शहिद परिवारका सदस्य गरी चारजनालाई नियुक्त गरेको छ ।
मधेश आन्दोलनका शहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ । यस्तै, जनयुद्धका शहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।
चारजना शहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।
मधेशी शहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देशन दिए ।