एजेन्सी, ९ मंसिर । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ । फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो । फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको छ ।

दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको छ । अलजाजिराका अनुसार फ्रान्सले यो डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ । दुर्घटनामा परेकामधये दुईजनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको तर उनीहरुको पहिचान भने खुल्न नसकेको फ्रान्सले बताएको छ । बेलायती पत्रिका टाइम्सका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना पहिला बेलायती सेनाको लागि काम गर्ने अफगान नागरिक थिए ।

लामो समयदेखि बेलायतको सहयोग पर्खिँदा पनि सहयोग नपाएपछि उनले जोखिमपूर्ण यात्रा गर्ने निर्णय गरेका थिए । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यसलाई दुःखद घटना भएको बताएका छन् । यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिएयता डुंगा डुबेर यति धेरै संख्यामा आप्रवासीको एकैपटक ज्यान गएको यो पहिलो घटना हो ।