आइपिएलको आगामी संस्करण २०२२ को अप्रिलमा सुरु गरिने

एजेन्सी, ८ मंसिर । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करण २०२२ को अप्रिलमा सुरु गर्ने बताएको छ ।
विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेल तालिका टुंगो नलागे पनि बिसिसिआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको हो ।
आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टि–२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ ।
बिसिसिआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।
आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदवाद तथा उत्तर प्रदेशको लखनउबाट एक–एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।
कोभिड–१९ महामारीका कारण आइपिएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरिएको थियो ।