एमाले महाधिवेशन: प्रदेश २ बाट २३२ प्रतिनिधि छनोट

जनकपुरधाम, ८ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छनोट गरिएका छन् ।
नेकपा एमाले प्रदेश २ का सचिव मनोज खड्काले अहिलेसम्म मोटामोटी २३२ जना महाधिवेशन प्रतिनिधि छनोट भएको जानकारी दिएका छन् । उनले यसमा अझै केही थपघट हुन सक्ने सम्भावना रहेको समेत बताए ।
धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको उनले बताए ।
त्यस्तै प्रदेश कमिटीबाट ५ जनालाई मनोनित गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि मंसिर १० देखि १२ गतेसम्म नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा हुन लागेको छ ।