एजेन्सी, ७ मंसिर । अमेरिकाको विस्कनसिन राज्यका अधिकारीले ३९ वर्षीय एक व्यक्तिले क्रिसमस परेडमा सहभागी मानिसमाथि जानीजानी कार गुडाएको बताएका छन् ।

आइतबार विस्कनसिनको वाउकेशामा आयोजित एक क्रिसमस परेडमा ३९ वर्षीय डरेल इ. ब्रुक्सले जानीजानी कार गुडाएको अधिकारीले बताएका हुन् । उनी एक्लैले उक्त घटना घटाएको वाउकेशाका प्रहरी प्रमुख डान थोमसनले बताए । ब्रुक्सविरुद्ध नियतबश गरिएको नरहत्यासम्बन्धी पाँचवटा आरोप लगाइएको र अनुसन्धानपछि थप आरोप लगाइने थोमसनको भनाइ छ ।

हाल प्रहरी हिरासतमा रहेका ब्रुक्सलाई दुई साताअघि रिहा गरिएको थियो । घरेलु दुर्व्यवहारसम्बन्धी मुद्दामा जेल परेका उनलाई १ हजार डलर धरौटीमा रिहा गरिएको थियो । उनलाई मंगलबार अदालत उपस्थित गराइने र हो क्रममा प्रारम्भिक अभियोग दर्ता गरिने वाउकेशाको जिल्ला अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्रुक्सले आइतबार वाउकेशामा आयोजित क्रिसमस परेडमा गाडी गुडाउँदा ५ जनाको मृत्यु भएको थियो । कारले किचिएर ७९ वर्षीया भर्जिनिया सोरेनसन, ७१ वर्षीया लेआना ओवेन, ५२ वर्षीया टमरा डुरान्ड, ५२ वर्षीया जेन कुलिच र ८१ वर्षीय विल्हेम होस्पेलको मृत्यु भएको सीएनएनले जनाएको छ ।

उक्त घटनामा परी ४८ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जना बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ ।