एजेन्सी, ७ मंसिर । युक्रेनी सीमा नजिकै ठूलो संख्यामा सैनिक र हतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरू रुसप्रति सशंकित बनेका छन् । अमेरिकी मिडियामा समेत रुसले कुनै पनि बेला युक्रेनमाथि हमला गर्न सक्ने खालका समाचार प्रकाशित भइरहेका छन् ।

शनिबारमात्रै अमेरिकाको सीबीएस समाचार माध्यमले चिसो मौसमको फाइदा उठाएर रुसले युक्रेनमाथि हमला गर्न सक्ने समाचार प्रकाशित गरेको थियो ।

सीबीएसले आफ्नो समाचारमा अमेरिकी खुफिया स्रोतलाई उधृत गर्दै ‘मौसम चिसो हुँदै जाँदा’ रुसले युक्रेनमाथि हमला गर्ने संभावना पनि बढेको जनाएको छ । ‘आक्रमण मौसमले निर्धारण गर्छ तर केही हप्ताभित्रै आक्रमण हुन सक्ने र पश्चिमले हस्तक्षेप गर्न नसक्ने अवस्था आउन सक्छ’, समाचारमा भनिएको छ ।

बुधबार अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले ‘युक्रेनी सीमा वरपर सैन्य तैनाथीबारे मस्को पारदर्शी हुनुपर्ने’ बताएका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्ययोजनाबारे आफू अनभिज्ञ रहेको समेत अस्टिनको भनाइ थियो ।

युक्रेनले सुरुमा अमेरिकी मिडियामा आएको समाचारप्रति समर्थन जनाएको थिएन तर पछि आफ्नो भनाइ परिवर्तन गरेको थियो ।युक्रेनका सैन्य खुफिया प्रमुख ब्रिगेडियर जनरल किरिलो बुडानोभले आइतबार मिलिटरी टाइम्ससँग कुरा गर्दै जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुतिर रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको बताएका थिए ।