काठमाडौं, ७ मंसिर । बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि २६ रनको जित निकाल्दै सुखद् शुरुवात गरेको छ ।

१७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा अल आउट हुँदै १४९ रनमा समेटियो । बागमतीका लागि विपिन शाहीले ४३ तथा विवेक मगरले ४२ रनको योगदान दिँदा तिलक भण्डारी १० रनमा अविजित रहे ।

प्रदेश १ का लुभ कामतले ५, दीपेश कँडेलले ३ तथा दीपक जोशीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

प्रदेश १ का लागि लुभ कामत र दीपक जोशीले सर्वाधिक ३३–३३ रनको योगदान दिए । सोनु अन्सारीले ३२ र दीपेश कँडेलले २३ रन बनाए ।

बागमतीका लागि तिलक भण्डारी र क्रिस कार्कीले ३–३, कप्तान प्रतिश जिसीले २ तथा गौतम केसी र विवेक मगरले १–१ विकेट हात पारे ।