काठमाडौं, ६ मंसिर । कोरोना महामारीका कारण विगत लामो समयदेखि रोकिएका नेपाली विद्यार्थी डिसेम्बरदेखि अस्ट्रेलिया जान पाउने भएका छन् । अस्ट्रेलिया सरकारले कोभिड १९ महामारीका कारण झण्डै २० महिनादेखि रोकिरहेका विद्यार्थीलाई डिसेम्बर १ देखि प्रवेश दिने निर्णय गरेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले महामारीका कारण अस्ट्रेलियामा गरिएको प्रतिबन्ध फुकुवा हुने बताएका छन् । सोही आधारमा लामो समयदेखि अस्ट्रेलिया जान नपाएका नेपाली विद्यार्थीहरू डिसेम्बर १ तारिखबाट जान पाउने भएका हुन् ।

अस्ट्रेलियामा कोरोना महामारीका कारण २०१९ को मार्चबाट सीमानाका बन्द गरिएको थियो । प्रतिबन्धलाई खुकुलो गर्दै अस्ट्रेलियाले विद्यार्थीका लागि प्रवेश खुला गर्ने निर्णय गरेको हो ।

अस्ट्रेलिया जाने विद्यार्थीहरूले भने खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ । यसअघि अस्ट्रेलिया भित्रिने जोसुकैले अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । तर अब भने विद्यार्थीहरूले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्ने नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ ।

अस्ट्रेलियाको उक्त निर्णयसँगै नेपालबाट करिब ५ हजार विद्यार्थी जान पाउने भएका छन् । विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर पनि विद्यार्थीहरू जान पाएका थिएनन् । उनीहरूले कलेजको शुल्क तिरेर अनलाइनबाटै पढाइ गर्दै आएका थिए । अब भने उनीहरू अस्ट्रेलिया नै जान पाउने छन् ।

अस्ट्रेलियाले फाइजर, जोनसन एण्ड जोनसन, अस्ट्राजेनिका, मोर्डेना, कोभिशिल्ड, भेरोसेल लगायतका खोपलाई मान्यता दिएको छ ।यीमध्ये जुनसुकै खोपको पूर्ण मात्रा लगाएका नेपाली विद्यार्थीले डिसेम्बर १ तारिखबाट अस्ट्रेलिया जान पाउने दूतावासले जनाएको छ ।