टि–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं, ६ मंसिर । आइसिसी टि–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।
हङकङको जितमा मारिको हिलले ४२ बलको सामना गर्दै ४ चौका प्रहार गरी अविजित ४४ रन जोडिन् । नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए । नेपालका लागि कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए ।
त्यसअघि युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो । नेपालका लागि सीता रानमगरले ५८ बलको सामना गर्दै ४ चौकाको मदतमा अविजित ४० रनको योगदान दिइन् ।
इन्दु वर्माले ३१ तथा काजल श्रेष्ठले ४ रन जोड्दा कविता कुँवर बिना कुनै रन पेभिलियन फर्किइन् । हङकङका लागि चान का म्यान र का यिङ चानले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । छनोटअघि नेपालले कतारसँग ३ खेलको टि–२० सिरिज आफ्नो पोल्टामा पारेको थियो ।