काठमाडौं, ६ मंसिर । नेपाल क्रिकेट (संघ) क्यानले मंगलबारबाट सुरु हुने पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

मंसिर १९ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले बागमती प्रदेशको समान गर्नेछ ।सोही दिन मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल विहान ९ बजेबाट सुरु हुनेछन् ।

प्रतियोगितामा मंसिर १७ गते बाहेक प्रत्येक दिन दुई खेल हुनेछन् । सात टोलीको सहभागिता रहने प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन गरिने छ भने शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । करिब पाँच वर्षपछि हुन लागेको प्रतियोगितालाई वाइवाइ मुख्य प्रायोजकका रुपमा साथ दिएको छ ।

प्रतियोगिताका लागि ९३ लाख विनियोजन गरिएको क्यान कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिएका छन् । जसमा ७० लाख मुख्य प्रयोजक वाइवाइले उपलब्ध गराउने छ भने बाँकी क्यान आफैले बेहोर्ने छ ।

यही प्रतियोगिताबाट यु–१९ एसियन कप खेल्ने नेपाली टोली तयार पारिने क्यानले जानकारी दिएको छ । सहभागी टोलीमा १४ खेलाडी १–१ व्यवस्थापक र प्रशिक्षक गरी १६ जना हुनेछन् ।