एजेन्सी, ५ मंसिर । दोषी ठहरिएका एक अभियुक्तले अमेरिकी विमानस्थलमा गोली चलाएपछि यात्रु र विमानस्थलका कर्मचारी भागाभाग गरेका छन् ।

एटलान्टास्थित हार्टफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच स्थलमा एक अभियुक्तले अवैध बन्दुक चलाएपछि यात्रु र विमानस्थलका कर्मचारी त्रसित बनेका थिए । गोली चलेको आवाज सुन्नेबित्तिकै मानिसहरू चिच्याउँदै भागाभाग गरेको समाचारमा उल्लेख छ ।

त्रसित बनेका केही मानिसहरू भाग्दै विमानस्थल बाहिर आएको रोइटर्स समाचार माध्यमले जनाएको छ । भाग्ने क्रममा ३ जना मानिस सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

गम्भीर अपराधमा दोषी ठहरिएका ४२ वर्षीय केन्नी वेल्सले गोली चलाएको र घटनालगत्तै बन्दुक लिएर भागेको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा लुकाएर बन्दुक बोकेको र लापरबाहीपूर्वक गोली चलाएको भन्दै उनीविरुद्ध पूर्जी जारी भइसकेको विमानस्थलका प्रहरी प्रमुख मेजर रेगिनाल्ड मूरम्यानले बताए ।

यातायात सुरक्षा विभाग (टीएसए)का अनुसार बन्दुक राखिएको झोला खानतलासी गर्ने क्रममा वेल्सले झोलाभित्र हात हाल्दा एक्कासि बन्दुक पड्किएको थियो । उक्त घटनापछि केही समय उडान बन्द गरिएको समेत समाचारमा जनाइएको छ ।

–सीएनएन