काठमाडौं, ५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले २ र सुरज गुरुङले १ गोल गरे । एपिएफका आशिष लामा र बिकी तामाङले १–१ गोल फर्काए ।

खेलको ११ औँ मिनेटमा दिनेशले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । १६ औँ मिनेटमा आशिषले खेल बराबरीमा ल्याए ।

६४औँ मिनेटमा दिनेशले नै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । ७७ औँ मिनेटमा बिकीले एपिएफलाई २–२ को बराबरीमा ल्याए ।

थप गरिएको समयमा सुरजले गोल गरेपछि ब्रिगेडले रोमाञ्चक जित हात पारेको हो । जितसँगै ब्रिगेडले ३ अंक जोड्दा एपिएफले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।