सप्तरी, ३ मंसिर । सप्तरीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–६ विरपुरमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिएपछि ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी यादवको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, भोगेन्द्र यादवको २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव, वडा नम्वर ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी संगिया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी चार वर्षीया छोरी सिधान्त यादव घाइते भएको प्रवक्ता काफ्लेले बताए ।

मोटरसाइकलमा सवार झापाको हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुली घाइते भएका छन् ।