टी–२० प्रतिस्पर्धामा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हरायो

एजेन्सी, २ मंसिर । जयपुरमा खेलिएको टी–२० प्रतिस्पर्धामा न्युजिल्यान्डलाई ५ विकेटले हराएर भारतले तीन म्याचको सिरिजमा १–० को अग्रता लितएको छ । भारतले यो खेलमा दुई बल बाँकी हुँदा जित निकालेको थियो ।
अन्तिम ओभरमा १० रनको आवश्यकता भएको खेलमा भारतले न्युजिल्यान्डमाथि रोमान्चक जित हासिल गरेको हो । केही दिनअघि मात्र सकिएको टी २० विश्वकपमा पराजित भारतको यो जितमा सूर्यकुमारको विशेष भूमिका रहेको थियो ।
सूर्यकुमारले भारतका लागि ४० बलमा ६२ रन जोडे । उनले आफ्नो पारीमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । १७ औं ओभरमा ट्रेन्ट बोल्टबाट आउट भएका सूर्यकुमार यादवले भारतका लागि सहज जित निकाल्न सहयोग गरेका हुन् । उनी आउट हुँदा भारतका लागि २० बलमा २१ रनको आवश्यकता थियो ।
भारतका लागि यो खेलमा रोहितले पनि राम्रो प्रदर्शन गरे । उनले ३६ बलमा ४८ रन बनाए । रोहित शर्माले पहिलो विकेटका लागि केएल राहुलसँग ५० रनको पारी खेलेका थिए । राहुलले खेलमा १५ रन बनाए ।
टस जितेर भारतले पहिले बलिङ रोजेको थियो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डको सुरुवात चाहिँ त्यति जम्न सकेन ।
तर, न्युजिल्यान्डका मार्टिन गप्टिलले ७० रनमा जोडेर न्युजिल्यान्डलाई फर्ममा राखेका थिए । केही दिनअघि सकिएको टी २० विश्वकपमा भारत ग्रुप स्टेजबाट नै आउट भएको थियो । न्युजिल्यान्डले फाइनलमा अष्ट्रेलियासँग हार व्यहोरेको थियो ।