काठमाडौं, १ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ ।

मंगलबार काठमाडौमा एक कार्यक्रमका बीच हिमालयन शेर्पा क्लबले नेपाल आइससँग मुख्य प्रायोजनका सम्झौता गरेको हो । हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ए डिभिजन लिगमा नेपाल आइस अंकित लोगो भएको जर्सी लगाउनेछ ।

प्रायोजन रकम भने खुलाइएको छैन । सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि नेपाल आइस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए । यस्तै, हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरको रुपमा खेलकुद पोसाक कम्पनी केटिएम सिटीसँग साझेदारी गरेको छ ।

हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौतापत्र आदानप्रदान गरे । सम्झौतासँगै केटिएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटिएम सिटीको जर्सी प्रयोग गर्नेछ ।

नयाँ सिजनको ए डिभिजन लिग शुक्रबारबाट हुँदै छ । हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

आजै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोटर््स किट्स प्रायोजनाका लागि सम्झौता गरेको छ । सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ ।

–फरकधार