युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखियो

एजेन्सी, ३० कार्तिक । युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।
दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्ममा बर्ड फ्लू देखा परेको छ । बर्ड फ्लू देखा परेपछि उक्त फार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको समाचारमा बताइएको छ । त्यस्तै, उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउँदमा पहिलो पटक एच५एनड नामक बर्ड फ्लूको उप–प्रजाति देखा परेको छ ।
युरोपका कतिपय मुलुकमा समेत बर्ड फ्लू देखा पर्न थालेको छ । नर्बेको रोगाल्याण्ड क्षेत्रमा ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।
विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेलिजय सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।
यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।