काठमाडौं, २९ कार्तिक । आउँदो संस्करणको विश्वकप अर्को वर्ष कतारमा आयोजना हुँदैछ । जसमा आयोजक कतारसहित कुल ३२ टोलीको सहभागी रहनेछ । हाल सबै महादेशमा छनोट जारी रहेको छ ।

कतार विश्वकपमा सबैभन्दा बढी युरोपबाट १३ टोली सहभागी हुनेछन् भने अफ्रिकाबाट पाँच टोलीले खेल्नेछन् ।

एसियाबाट चार टोलीको सहभागिता निश्चित छ । यो संख्या पाँच पनि पुग्न सक्छ किनभने एक एसियाली टोलीले प्लेअफ खेल्ने मौका पाउनेछ ।

यसैगरी कोनकाकाफ (उत्तर अमेरिका, सेन्ट्रल अमेरिका र क्यारबेयिन) क्षेत्रबाट अधिकतम चार टोली विश्वकपमा सहभागी हुनेछन् । यस्तै दक्षिण अमेरिकाबाट चार टोलीको स्थान पक्का छ भने थप यो क्षेत्रबाट थप एक टोलीले प्ले अफ मार्फत विश्वकपका लागि स्थान बनाउन सक्छ ।

हालसम्म नौ टिमले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । कतार आयोजकका हैसियतले सिधै छनोट हुँदा युरोपबाट सात तथा दक्षिण अमेरिकीबाट एक टोलीले टोलीले विश्वकप खेल्ने पक्का भएको छ ।