फिफा विश्वकप: फ्रान्सले काजाकिस्तानलाई ८–० को फराकिलो अन्तरले हरायो

एजेन्सी, २८ कार्तिक । फिफा विश्वकपको युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा फ्रान्सले काजाकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यो जितसँगै विश्व विजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् ।
पार्क डेस प्रिन्सेसमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले ४, करिम बेन्जिमाले २ तथा एड्रिएन राविओट र एन्टोइन ग्रिजम्यानले समान १ गोल गरे ।
एम्बाप्पेले खेलको सुरुवाती ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । उनले छैटौं १२औं र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को आरमदायी अग्रता लिएको थियो ।
५५औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ४–० ले अघि बढाए । ५९औं मिनेटमा बेन्जिमाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ७५औं मिनेटमा राविओटले टोलीका लागि छैटौं गोल गरे । ८४औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै खेललाई ७–० को स्थितिमा ल्याए ।
८७ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत चौथो तथा टोलीका लागि आठौं गोल गर्दै फ्रान्सलाई फराकिलो जित दिलाए । यो जितपछि अपराजित फ्रान्स ७ खेलबाट १५ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा यथावत रहँदा पराजित काजाकिस्तान ८ खेलबाट ३ अंक जोड्दै पुछारमा छ ।
यही समूहको अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनियालाई ३–१ ले पराजित गरेको छ ।