इक्वेडरको एक कारागारमा झडप, ६८ जनाको मृत्यु

एजेन्सी, २८ कार्तिक । इक्वेडरमा एउटा कारागारमा भएको झडपमा परी ६८ जनाको मृत्यु भएको छ ।
दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् ।कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।
सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।
कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए ।
कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो ।
जेलभित्र ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।