एजेन्सी, २७ कार्तिक । अमेरिकाको न्याय मन्त्रालयले डोनाल्ड ट्रम्पका पूर्व सहयोगी स्टिभ ब्याननमाथि दुईवटा अभियोग लगाएको छ ।

न्याय मन्त्रालयले जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसा छानबिन गरेको हाउस अफ रिप्रेजेन्टेटिभको एक प्यानलले उपस्थित हुन भन्दै जारी गरेको आदेश नमानेर कंग्रेसको अपहेलना गरेको र कागजात पेश गर्न अस्वीकार गरेको भन्दै ब्याननमाथि दुईवटा अभियोग लगाएको हो ।

दुबै अभियोग पुष्टि भएमा ब्याननले हरेक अभियोगका लागि कम्तिमा ३० दिन जेल बस्नुपर्ने र उनलाई १ वर्षसम्म काराबास सजाय हुने अलजजिराले जनाएको छ । तर उनी अदालतसमक्ष उपस्थित हुने मिति प्रस्ट भइसकेको छैन ।

शुक्रबार दुईवटा अभियोग लगाइएका ब्यानन कन्जर्भेटिभ मिडिया वृत्तका महत्वपूर्ण व्यक्ति हुन् । यसअघि ब्रेइटबार्ट न्युज वेभसाइटको नेतृत्व गरेका उनले ट्रम्पका पालामा ह्वाइटहाउसको प्रमुख रणनीतिज्ञको रुपमा काम गरेका थिए ।

सन् २०१६ को चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेलेका ब्याननले पछिल्ला अभियोगसहित २ वर्षमा दुई पटक फौजदारी अभियोग सामना गरिसकेका छन् ।

यसअघि ब्याननमाथि २०२० मा अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउने ट्रम्पको परियोजनामा सहयोग गरेका दातालाई धोका दिएको अभियोग लागेको थियो । तर उक्त अभियोगका सम्बन्धमा मुद्दा दर्ता हुनुपूर्व नै ट्रम्पले ब्याननलाई माफी दिएका थिए ।