ब्राजिलीयन भेट्रान डिफेन्डर डानी आल्भेस बार्सिलोना फर्कने

एजेन्सी, २७ कार्तिक । ब्राजिलीयन भेट्रान डिफेन्डर डानी आल्भेस स्पेनिस क्लब बार्सिलोना फर्कने भएका छन् । उनी फ्रि–एजेन्टमार्फत क्याम नोउ फर्कन लागेको क्लबले पुष्टि गरेको छ ।
आल्भेसले अर्काे सातादेखि बार्सिलोनामा प्रशिक्षण थाल्ने भए पनि जनवरीसम्म खेल्न भने पाउने छैनन् ।
३८ वर्षीय आल्भेस ५ वर्षपछि बार्सिलोना फर्कन लागेका हुन् । उनी सन् २००८ मा अर्को स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुगेका थिए । आल्भेसले सन् २०१५–१६ को सिजनसम्म क्याप नोउमा बिताउँदा ३९१ खेलमा २१ गोल गर्नुका साथै २३ उपाधि जितेका थिए । उनी खेल करियरमा सर्वाधिक ४३ ट्रफी जित्ने खेलाडी हुन् ।
बार्सिलोनाको इतिहासमा उनलाई सबैभन्दा सफल राइटब्याक मानिन्छ । आल्भेसले बार्सिलोना छाडेपछि उनको विकल्पमा बार्सिलोनाले थुप्रै खेलाडीलाई प्रयोग गरेपनि त्यसमा सफल हुन सकेको छैन । सोही कारण पनि क्लबले उनलाई फर्काउने निर्णय गरेको हो ।
बार्सिलाना छाडेपछि इटालियन क्लब युभेन्टसबाट एक सिजन खेलेका आल्भेसले त्यसपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा दुई सिजन बिताए ।
पिएसजीपछि उनी ब्राजिलीयन क्लब साओ पाउलो पुगेका थिए । यो सिजनको अन्त्यसँगै आल्भेस क्लबविहीन बनेका थिए । आल्भेसको कप्तानीमा ब्राजिलले टोकियो ओलम्पिकमा स्वर्ण पदक हात पारेको थियो ।