काठमाडौं, २७ कार्तिक । उच्च रक्तचाप र वान्ता भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार राती अस्पतालमै बस्नुपर्ने भएको छ ।

उनलाई चिकित्सकहरुको निगरानीमा राख्नु पर्ने भएकाले मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

केही दिनअघि कर्णालीका विभिन्न जिल्ला पुगेर फर्किएका प्रचण्डको रक्तचाप शुक्रबार अचानक अनियन्त्रित बनेको थियो । शनिबार विहानदेखि नै अस्वस्थ बनेका प्रचण्डले वान्ता गर्न थालेपछि उनलाई अस्पताल लगिएको थियो ।

‘त्यस्तो गम्भीर केही होइन, सामान्य अवस्था नै हो तर वान्ता नै भए पछि उहाँलाई अस्पताल लगिएको हो,’ जुगलले भने, ‘आज एक दिनका लागि अस्पतालमा नै राख्ने निर्णय भएको छ । चिकित्सकहरुको निगरानीमा बसौँ भनेर मात्र हो, स्वास्थ्यमा त्यस्तो गम्भीर समस्या देखिएको छैन, सामान्य नै छ ।’