काठमाडौं, २६ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजनका लागि साढे ६ करोड बजेट छुट्टाएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लिगका लागि साढे ६ करोड छुट्याइएको र तीमध्ये १ करोड ५० लाखको हाराहारीमा मुख्य प्रायोजक कतार एयरवेजले बेहोर्ने जानकारी दिए ।

महासचिव तुलाधरले एन्फाले लिगका केही खेल पोखरमा पनि गर्ने योजना बनाएको र त्यो सफल भएमा लिगको बजेट बढ्ने बताए ।लिगअघि कोरोना रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई प्रतियोगिताको दौरान कोरोना संक्रमण भएमा त्यसको सम्पूर्ण खर्च एन्फाले बेहोर्ने तुलाधरले जनकारी दिए ।

लिगका सबै खेल रंगशालाको पूर्ण क्षमता दर्शकका साथ हुने एन्फाले बताएको छ । लिग विजेता टोलीले ७५ लाख, उप–विजेताले ५० लाख तथा तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्ससहित नगद २ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । उदीयमान खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।