राष्ट्रिय महिला लिगमा धनगढी र ललितपुरको स्थान सुरक्षित

काठमाडौं, २६ कार्तिक । धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनल प्रवेश गर्दै राष्ट्रिय महिला लिगमा स्थान सुरक्षित गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा कैलालीको धनगढीले आफ्नै जिल्लाको गौरिगंगा नगरपालिमाथि ४–० को सहज जित हात पार्यो ।
धनगढीको जितमा सीमा रावल, चन्द्रा भण्डारी, रेविका पाण्डे र सरस्वती रोकायले १–१ गोल गरे । खेलको आठौँ मिनेटमा रावलले गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिइन् । ४७ औं मिनेटमा भण्डारीले टोलीको अग्रता दोब्बर बनाइन् ।
६९ औं मिनेटमा पाण्डेले गोल गर्दा धनगढी ३–० ले अघि बढ्यो । ८८ औं मिनेटमा रोकायले गोल गर्दै टोलीलाई सहज जित दिलाइन् । ललितपुरले शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा झापाको कन्काई नगरपालिकालाई १–० ले हरायो । ललितपुरको जितमा एक मात्र गोल निर्मला बिकले गरिन् ।
धनगढी र ललितपुरले आइतबार प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी ३१ मध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।छनोटको विजेताले ५ लाख तथा उप–विजेताले ३ लाख पाउनेछन् । फेयर प्ले टिम तथा सर्वोकृष्ट खेलाडीले समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार प्राप्त गर्नेछन् ।